जामुनको रुख: Shameless Vulgarity

राराहिल मेमोरियल स्कूलसँगको सहकार्यमा नाटकघर थिएटर मल–कीर्तिपुर रङ्गमञ्च

मञ्चमा:

शंकर भण्डारी – मान्छे

रङ्गमञ्च मेरो लागि आफ्नो पीडा साट्ने ठाउँ हो । ओठमा मुस्कान छाड्ने ठाउँ हो । जहाँ सानो सानो कुरामा पनि खुसी हुन सकिन्छ । खुसी खोज्न, आफुलाई बुझ्न अनि खुला आँखाले देखेको सपनासँग नजिक हुन म रङ्गमञ्चमा छु, जबसम्म थाक्दिन । – शंकर भण्डारी 

कञ्चन संग्रौला – माली

नाटक अभ्यास गर्दै जाँदा हामीले नाटक मात्र गरिरहेका छैनौ, हामी हाम्रै दु:ख र दुर्दशा भनिरहेका छौं भन्ने बुझेदेखि तनाव सुरु भयो । यो समाजको कुरुपतालाई देखाउँदैछौं भन्ने लागेपछि गम्भीर बनायो र यो समय झन् माया लागेर आयो । हाम्रो टिम मेहनतका साथ लागेको छ, अरु कुरा नाटक नै बोल्नेछ । 

रोसन के.सी.– कुची, फलफूल विभाग कर्मचारी, कोरस १

पर्दामा, मञ्चमा कलाकारहरु देखिरहँदा आफूलाई पनि त्यही मञ्चमा देखाउन पाए हुने भन्ने लागिरहन्थ्यो । यो चाहना कतै मनमा लुकेर बसेको थियो । त्यही चाहना पूरा गर्न म यहाँसम्म आइपुगेको हुँ । थिएटर मलको सहयोगमा पहिलोचोटी मञ्चमा उत्रदैंछु, आशा छ यहाँहरुको सुझाव पाउनेछु । 

मनिष व्याञ्जु – सुपरीटेन्डेन्ट, डाक्टर, साहित्य सचिव, युवक, हकर

भक्तपुरबाट कीर्तिपुर पहिलोपटक बाटो सोध्दै बल्लतल्ल थिएटर मल पुग्दा मलाई टाढा लागेको थियो । तर विचार गरें, ‘मेरो गन्तव्य थिएटर मलभन्दा पनि टाढा छ, म जानुपर्छ ।’ थिएटर जाने सोच पुरानै भएपनि थिएटरमा यति धेरै कुरा हुन्छन् भनेर सोचेको थिइन । ‘नाटक’ एउटा सानो शब्द तर यसभित्र अनेकन कुराहरु रहेछन् । आफ्नो अभिनय कलामा नयाँ कुराहरु थप्दै अझै निखार्ने मौका पाइरहको छु मेरो पहिलो पाइला, पहिलो नाटक ‘जामुनको रुख’प्रति उत्साहित छु र साथसाथै डर पनि । सायद गन्तव्यतिर थोरै थोरै अघि सर्दैछु । 

शक्ति पाख्रिन – सुब्बा, सहायक डाक्टर, क्यामेराम्यान

रङ्गमञ्चमा पहिल्यैदेखि रुचि रहेपनि पहिलोपटक नाटकलाई नजिकबाट नियालेर हेर्ने मौका थिएटर मलमा पाएँ । यसरी हेर्दा नाटकको अर्थ पनि फरक पाएँ । यहाँ यथार्थलाई नाटक भनिँदो रहेछ । ‘जामुनको रुख’ हाम्रो समाजको तितो यथार्थ हो, नाटक मात्र होइन । 

हीरा महर्जन – कार्यालय सचिव, कृषि अधिकृत, व्यापारी, वन कर्मचारी, कोरस २

नाटकको कार्यशालामा म अरु साथीहरु भन्दा उमेरले पाको भएकोले सुरुका दिनमा अप्ठ्यारो महशुस भएको थियो तर मलाई साथीहरुसँग घुलमिल हुन चाँडै नै सहज भयो । यो तीन महिनामा अभिनयसँगै साहित्य लेखन, शारीरिक व्यायामसमेत पनि सिक्ने अवसर पाएँ । यस ‘जामुनको रुख’ नाटकमा ५१ वर्षे मैले पनि रङ्गमञ्चमा अभिनय गर्न पाएकोमा अत्यन्त खुशी छु । मेरो परिवारका सदस्यहरु झन् खुशी छन् ।

तर, कीर्तिपुरमा यस्तो महत्वपूर्ण कार्य भइरहँदा पनि खास बासिन्दाहरुले खासै चासो नदिएकोले मलाई अत्यन्त दु:ख लागिरहेछ । विस्तारै कीर्तिपुरका युवाहरुको उल्लेखनीय सहभागिता हुनेछ भन्ने आशा लिएको छु । 

स्नेहा रसाइली – सचिव, इन्स्पेक्टर, रिपोर्टर, परराष्ट्र अधिकृत

नाटकको विद्यार्थीको रुपमा भदौदेखि सुरु गरेको यात्रामा यहाँसम्म विभिन्न सम्झना बटुल्दै आएको छु । थिएटर मलमा छोटो अवधिमा पनि मैले धेरै कुराहरु सिकें र अझै सिक्न बाँकी नै छ । म यस ठाउँमा आफुलाई यति धेरै रमाएको पाउँछु कि कति चाडैं यो मेरो दोस्रो घर बनिसकेछ । यहाँका सबैजना मेरो परिवार बन्नु भएछ त्यो कुरा को पत्तो नै भएन ।

सरोज राई – उपसचिव, हवल्दार, वन कर्मचारी, कोरस ३

नाटकको तयारीमा लागिरहँदा म निकै उत्साहित छु । थिएटर मलमा आवद्ध भएर काम गर्दा रमाइलो साथसाथै आफूले नाटक सम्बन्धी ज्ञानसीप सिकिरहेको महसुस भएको छ र धेरै बुझ्न बाँकी नै छ । 

नेपथ्यमा

डकुमेन्टेशन : विभु पौडेल, प्रशुन सिन्धुलिय

पोस्टर तथा मञ्च कला : सुजिता महर्जन

प्रकाश परिकल्पना : जीवन बराल

प्रकाश परिचालन : कुमार थापा

भिडियो संयोजन : अभय, शक्ति पाख्रिन

ध्वनि संयोजन: : मनिष व्याञ्जु

ध्वनि परिचालन : अनिल पराजुली

व्यवस्थापन : सञ्जिता पराजुली, सबीर चुरौटे, इलिना नकर्मी, अरुण पौडेल, गणेश पौडेल, अर्जुन पौडेल, अनुजा अधिकारी, सुनिल पोखरेल, सुजन महत, उषा भण्डारी, मदन श्रेष्ठ, अमुल श्रेष्ठ, न्हूज महर्जन । 

सहायक निर्देशन : शक्ति पाख्रिन

मञ्च व्यवस्थापक : शंकर भण्डारी

कथा : कृष्ण चन्दर

नाट्य लेखन, परिकल्पना तथा निर्देशन : केदार श्रेष्ठ

विशेष धन्यवाद: तुलसीदास महर्जन, जगतबहादुर महर्जन, सुनिल महर्जन, सञ्चित डंगोल, राराहिल मेमोरियल स्कूलका शिक्षक–शिक्षिक तथा सम्पूर्ण राराहिल परिवार । 

आभार : जयराम चौधरी, शिव परियार, सुरेश कार्की, टुल्स इन्जिनियरिङ, ह्याप्पी ह्युज प्रोडक्सन, सुस्केरा समूह, थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल), जयराम तिमिल्सिना, रामगोपाल तामाङ, रविना तामाङ, दुर्गा रम्तेल, प्रमिला महर्जन, सूर्यथिङ तामाङ, धर्म महर्जन, प्रदीप महर्जन, अनिल देयला, काशी बास्कोटा, लक्ष्मी रिसाल, सावित्री महर्जन । 

राराहिलको तर्फबाट

थिएटर मल नेपाल र राराहिलको सहकार्यमा गत वर्ष राराहिल स्कुलको प्राङ्गणमा कीर्तिपुर रङ्गमञ्चको प्रारम्भ नै नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको हिस्साको रुपमा भयो । यस अलावा अन्य संस्थाहरुको समेत सहभागितामा विभिन्न नाटकहरु मञ्चन र कार्यशाला गर्दै आएको छ । कला र संस्कृतिमा धनि कीर्तिपुर नगरभित्र अवस्थित रङ्गमञ्चले यस क्षेत्रका कला र संस्कृतिमा थप विकासका लागि महत्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास राराहिलले लिएको छ । नाटक पाठशालाको रुपमा समेत रही नवकलाकारहरु जन्म दिादै कीर्तिपुर रङ्गमञ्चमा पहिलो नियमित नाटक ‘जामुनको रुख’ मञ्चन गर्दैछ । आफ्नै प्राङ्गणमा रहेको नाटकघरमा अन्तर्राष्ट्रिय स्तरको नाटक प्रस्तुत हुन गइरहेकोमा हामी सम्पूर्ण राराहिल परिवार अत्यन्त हर्षित एवं गौरवान्वित छौं । शिक्षा र शिक्षणमा नाटक विधा र यसले समेट्ने विषयवस्तुले नयाा आयाम थप्ने कुरामा हामी विश्वस्त छौं । यस अर्थमा राराहिल परिवार थियटर मल– कीर्तिपुर रङ्गमञ्चलाई हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छ । 

तुलसीदास महर्जन, अध्यक्ष, राराहिल स्कूल व्यवस्थापन बोर्ड

नाटकबारे

सरकारी सचिवालय अगाडि बूढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिचेपछि नाटक सुरु हुन्छ । थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवीयतालाई पाखा लगाएर एकपछि अरुलाई जिम्मेवारी पन्छाउँदै जान्छन् । अझै थिचिएको मान्छेप्रतिभन्दा ठिक उल्टो ढलेको बूढो जामुनको रुखप्रति सहानुभूति प्रकट गर्दै अमानवीयताको हदसम्म पुग्छ ।

‘जामुनको रुख’ वर्तमान जटिल र बिसंगत सामाजिक– राजनीतिक अवस्थाको सपाट कथा हो । पद र पावरमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवीयता लगायतको कथा हो । समग्रमा यो नाटक हाम्रो खोक्रिदैं गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको सिधा व्यङ्ग्य हो । यसर्थ यो नाटक हामीले बाँचिरहेको समयको ‘लाजविहिन अश्लीलता (Shameless Vulgarity) हो ।

अरु त नाटकमा जे हेर्नुहुन्छ, जे देख्नुहुन्छ र जे बुझ्नुहुन्छ त्यही नै यो नाटकको यथार्थ हो । 

यो नाटक थिएटर मलको अभिनय कार्यशाला ‘थिएटर ग्यारेज’को तेस्रो ब्याचका साथीहरुको प्रस्तुति हो ।

कथाकार बारे

कृष्ण चन्दर (सन् १९१४–१९७७) विशेषत: उर्दु भाषाका साहित्यकार हुन् । भारतीय स्वतन्त्रता संग्रामपछि उनले हिन्दी भाषामा पनि कलम चलाएका हुन् । सन् १९६९ मा शिक्षा र साहित्यका लागि भारत सरकारद्वारा पद्य भूषण सम्मानित उनका उर्दु र हिन्दीमा गरी २० उपन्यास, ३० कथासंग्रह र अन्य थुप्रै कृतिहरु छन् । उनका कृतिमा जमिनबाट उठेका पात्रहरुको जीवन र संघर्षहरु बुनिएका हुन्छन् । जामुनका रुख उनको लोकप्रिय हाँस्यव्यङ्ग्य कथा हो । 

निर्देशकीय

‘भोको घर’को मञ्चन पछि तीन वर्षको अन्तरालमा वयस्कहरुका लागि नयाँ नाटक तयार पार्न सकें । यद्यपी यो बीचमा बालनाटकको लेखन, निर्देशन, मञ्चन तथा रंगमञ्चकै अनेकन कामहरुको साथमा थिएँ ।

आफ्नै लेखन वा नेपाली मौलिक नाटकमा रमाइरहेको मैले यसपटक भने राजनीतिक सिमाका हिसावले देशबाहिरको लेखकको कथालाई मञ्चमा ल्याएको छु । तर यो कथा अनेकन पटक पढ्दा यसले कुनै भूगोल र सिमा छुट्याएको फिटिक्कै पाइन । हरेक पटक पढ्दा आफ्नै परिवेश र हाम्रै देशको चित्र झन् गाढा गाढा बने र त्यही चित्रहरुलाई बटुलेर दृश्यमा रुपान्तरित गरें ।

नाटक कथाको मञ्चन मात्र होइन, यो विम्व–प्रतीकहरुको सहायताबाट बोलिने कलाको चेतनशील समृद्ध माध्यम हो । ‘जामुनको रुख’ कथाजस्तै सरल बान्कीबाट नाटकलाई मञ्चमा उतार्ने प्रयास गरेको छु । तर हरेक सरलताभित्र जटिलता र जटिलताभित्र सरलता कलाको स्वाभाविकता हो । यसर्थ तपाईंको भौतिक आँखाले देखेका दृश्यहरुभन्दा पनि भयानक दृश्यहरु तपाईंको चेतन आँखाले देख्नुभयो भने नाटक अर्थपूर्ण बनेछ भनेर बुझ्नेछु । 

म यति चाहिँ भन्न सक्छु की यो नाटक मैले बाँचिरहेको समयको आफ्नै छटपटि, चिन्ता र विमर्श हो । मलाई विश्वास छ, एक आम मान्छेको छटपटि र चिन्ता साझा हुन सक्छ । नाटक हेरेर प्रतिक्रियाको आशासहित । 

अनि हामी कीर्तिपुरलाई कला, साहित्य र संस्कृतिप्रति निकै चासो र चिन्ता राख्ने नगरको रुपमा चिन्छौं । यो चासो र चिन्ताका पाइलाहरु थिएटरसम्म आइपुग्नेछ र नाटक हेर्नुहुनेछ भन्नेमा आशा साँचेका छौं । 

– केदार श्रेष्ठ, कला निर्देशक, थिएटर मल